भक्तपुरमा खटजात्रा मनाइँदै
भक्तपुर | भदौ १५, २०७९
भक्तपुर । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खल: तथा गुथियारका सक्रियतामा यो जात्रा गरिएको हो ।
यो जात्रा करिब पाँच दशकपछि गत वर्षदेखि पुन:सञ्चालनमा आएको थियो । अर्थाभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जीवित गर्न गत वर्ष सूर्यविनायक–६ र ८ ले रु दुई–दुई लाख बजेट व्यवस्था गरेको थियो । सोहीअनुसार स्थानीय गुठियार र विभिन्न समिति, भजन खल:को सक्रियतामा जात्रा पुन:सञ्चालनमा भएको हो । जात्राका लागि यस वर्ष पनि दुवै वडाले रु तीन–तीन लाख विनियोजन गरेको छ ।
सूर्यविनायक मन्दिर सूनपा–८ र ६ को सिमानामा रहेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीको दिनलाई भगवान् सूर्यविनायकको जन्मोत्सवका रूपमा समेत लिइन्छ । जात्राका क्रममा सूर्यविनायकको मूल मूर्तिलाई खट्मा राखी एकापसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराइने परम्परा रहेको छ ।
सूर्यविनायक मन्दिरको प्राङ्गणबाट सुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चाटोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाउँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराइन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमेबाजा तथा गुठियारको सहभागिता रहन्छ ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो)को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन् । यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्का;(बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्व:मा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंग: ९सगुन० जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

